सत्य, निष्पक्ष र विश्वसनीय

भोटेकोशीमा पुनः बाढीको जोखिम, नदी किनारका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

न्युज डेस्क
२०८३ भाद्र १२, शुक्रबार १४:३३

काठमाडौ, १२ भदौ
रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहेका नागरिक तथा उद्धार र राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार भदौ १० गते ठूलो बाढी आएको भोटेकोशी नदी क्षेत्रमा शुक्रबार पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ। पानीको बहाव बढेसँगै थप बाढी आउन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतले शुक्रबार जारी गरेको सूचनामार्फत सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेकी छन्।
विशेषगरी भोटेकोशी तथा त्रिशूली नदी किनारमा खोजी, उद्धार र राहत कार्यमा खटिएका व्यक्ति तथा विभिन्न कारणले जोखिम क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन भनिएको छ।
प्राधिकरणले नदीको बहावमा आउने परिवर्तनलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान अनुरोध गरेको छ। नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्नसमेत प्राधिकरणले आग्रह गरेको छ।
भदौ १० गतेको विनाशकारी बाढीपछि भोटेकोशी तथा त्रिशूली आसपासका क्षेत्रमा खोजी, उद्धार र राहत कार्य जारी रहेकै अवस्थामा पुनः पानीको बहाव बढेको सूचना आएपछि प्राधिकरणले सतर्कता बढाउन आग्रह गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?