सत्य, निष्पक्ष र विश्वसनीय

गोरखापत्रका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको निधन

न्युज डेस्क
२०८३ भाद्र १८, बिहीबार ०६:२७

वीरगन्ज, १८ भदौ
गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको बिहीबार निधन भएको छ।
पर्साको वीरगन्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर अगाडिको चौतारोमा उपाध्याय अचेत अवस्थामा भेटिएका थिए। तनहुँको भानु नगरपालिका–१ भन्सारपुल घर भएका ५५ वर्षीय उपाध्यायलाई अचेत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
खबर पाएलगत्तै वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उपाध्यायलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल वीरगन्ज पुर्‍याएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार अस्पताल पुर्‍याउँदा उपाध्याय अचेत अवस्थामा थिए। उपचारका क्रममा चिकित्सकले उनको मृत्यु भइसकेको जानकारी गराएका थिए।
प्रवक्ता मल्लले भने, “अचेत अवस्थामै उहाँलाई अस्पताल पुर्‍याएका थियौँ। चिकित्सकले उपाध्यायको निधन भइसकेको जानकारी गराउनुभयो।”
उपाध्यायको शव नारायणी अस्पतालमै राखिएको छ। उनका परिवारका सदस्यहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?