सत्य, निष्पक्ष र विश्वसनीय

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

न्युज डेस्क
२०८३ आश्विन १५, बिहीबार ०७:४०

काठमाडौं, १५ असोज

भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलिटर २० रुपैयाँसम्म बढेर आए पनि नेपाल आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

चाडपर्वको समय, हालैको बाढीपहिरोले पारेको असर तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निर्णय गरिएको निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ।

निगमका अनुसार नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलको बिक्री मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम रहनेछ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपालमा बिक्री मूल्य नबढाउँदा निगमलाई आर्थिक भार पर्ने भएको छ। निगमका अनुसार मूल्य समायोजन नगर्दा आगामी १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

चाडपर्वको समयमा उपभोक्तालाई थप मूल्यवृद्धिको भार नपरोस् भन्ने उद्देश्यले तत्काल मूल्य नबढाउने निर्णय गरिएको निगमले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?