काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा १२ दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने
काठमाडौं, १५ असोज
नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युतीय वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ।

काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सार्वजनिक गरेको सूचनाअनुसार १५ असोजदेखि २६ असोजसम्म विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा दैनिक पाँच घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी, कीर्तिपुर तथा मीनभवन वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरी प्राविधिक काम गरिनेछ।
तालिकाअनुसार १५ असोजमा कुलेश्वर वितरण केन्द्रको सतुङ्गल फिडरअन्तर्गत बौथाली चोक आसपासका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। १६ असोजमा कीर्तिपुर वितरण केन्द्रको मच्छेगाउँ फिडरअन्तर्गत दोभान चोक र खुसी चोक क्षेत्रमा विद्युत् कटौती हुनेछ।
त्यस्तै, १७ असोजमा जोरपाटी वितरण केन्द्रअन्तर्गत मूलपानी स्विचिङ क्षेत्रमा, १८ असोजमा कुलेश्वरको बलम्बु फिडरअन्तर्गत बर्गर हाउस तथा गुर्जुधारा क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
२० असोजमा जोरपाटीको मूलपानी फिडरअन्तर्गत बाबा चोक र मिलन चोक क्षेत्रमा तथा २१ असोजमा कुलेश्वरको बलम्बु फिडरअन्तर्गत पीएसएसदेखि खाद्दु खोलासम्मको क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ।
यसैगरी, २२ असोजमा बानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडरअन्तर्गत कोटेश्वर–बालकुमारी क्षेत्रमा, २४ असोजमा बानेश्वरकै पशुपति फिडरअन्तर्गत सिफल क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ।
२५ असोजमा कुलेश्वरको सतुङ्गल फिडरअन्तर्गत धौलागिरी आवास क्षेत्र तथा २६ असोजमा मीनभवन वितरण केन्द्रको धोबीखोला फिडरअन्तर्गत धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
प्राधिकरणले तोकिएको दिन मौसम प्रतिकूल भएमा सटडाउनको कार्यतालिका स्थगित हुन सक्ने जनाएको छ।
काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, आधुनिक, सुदृढ तथा स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ। पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत प्रणाली निर्माण गरिएको थियो भने दोस्रो चरणमा काठमाडौंका बाँकी सहरी क्षेत्रमा काम भइरहेको छ।
यसअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टका
वितरण लाइनहरू भूमिगत रूपमा बिछ्याउनुका साथै अप्टिकल फाइबरसमेत जडान गरिँदैछ।
भूमिगत विद्युत् प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता तथा सुरक्षामा सुधार हुने र वितरण प्रणालीलाई क्रमशः स्वचालित बनाउन सहयोग पुग्ने प्राधिकरणको विश्वास छ। साथै, सडकमा अव्यवस्थित रूपमा गुजुल्टिएका तार हटाउन सहयोग पुग्ने भएकाले सहरी सौन्दर्यमा समेत सुधार आउने प्राधिकरणले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





