सत्य, निष्पक्ष र विश्वसनीय

वीरगन्जका सामुदायिक तथा संस्थागत विद्यालयमा शनिबार र आइतबार साप्ताहिक बिदा कायम गर्न निर्देशन

न्युज डेस्क
२०८३ आश्विन १५, बिहीबार १८:०२
अब वीरगञ्जका वडा कार्यालयबाटै मालपोत कर तिर्न सकिने

वीरगन्ज , ११५ असोज 

 वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शनिबार र आइतबार नियमित साप्ताहिक बिदा कायम गर्न निर्देशन दिएको छ।

महानगरपालिकाको शिक्षा तथा प्रशासन महाशाखाले बुधबार एक सूचना जारी गर्दै विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न यस्तो निर्देशन दिएको हो।

शिक्षा तथा खेलकुद मन्त्रालयको २०८३/०२/१९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरिएको थियो। सोही सन्दर्भमा वीरगन्ज महानगरपालिकाअन्तर्गतका केही संस्थागत विद्यालयहरूले आइतबारसमेत विद्यालय सञ्चालन गरिरहेको गुनासो प्राप्त भएको महानगरले जनाएको छ।

महानगरपालिकाले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूले प्रत्येक शनिबार र आइतबार नियमित साप्ताहिक बिदा कायम गर्नुपर्ने जनाएको छ। साथै, यसबाट पठनपाठनको समय तथा कार्यदिनमा कमी हुन नदिन शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा पाठ्यक्रम विकास केन्द्रबाट जारी निर्देशनअनुसार दैनिक पठनपाठनको समय, वार्षिक शैक्षिक क्यालेन्डर तथा आवश्यक बिदा समायोजन गर्न निर्देशन दिइएको छ।

महानगरले स्वीकृत पाठ्यक्रमअनुसार तोकिएको वार्षिक कार्यघण्टा अनिवार्य रूपमा पूरा हुने व्यवस्था मिलाउनसमेत विद्यालयहरूलाई निर्देशन दिएको छ।

वीरगन्ज महानगरपालिकाको नगर शिक्षा समितिको २०८३/०६/०९ गतेको निर्णयअनुसार विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न उक्त निर्देशन जारी गरिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले जारी गरेको पत्रमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्याब्सन/एन प्याब्सन वीरगन्ज–पर्सालाई समेत बोधार्थ दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?