हिल्सामा भारी हिमपात, ४१ नेपाली अलपत्र
हुम्ला, १६ असोज
हुम्लाको उत्तरी सीमा नाका हिल्सामा अविरल वर्षासँगै भएको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन्।

हिल्सा ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएका हुन्।
अध्यागमन अधिकृत विमल पौडेलका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१, २ र ३ का नागरिक रहेका छन्। उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन्। गत शुक्रबार हिल्सा पुगेका उनीहरू हिमपात सुरु भएपछि नाकामै रोकिएका हुन्।
हिमपातका कारण कैलाश मानसरोवर दर्शनका लागि चिनियाँ पक्षले आवतजावत बन्द गरेको छ। हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार अक्टोबर ४ अर्थात् असोज १८ गतेदेखि नाका खुल्ने जानकारी प्राप्त भएको छ।
सडक खुलाउन चुनौती
चीनतर्फ सडक खुलाउने काम भइरहेको भए पनि नेपालतर्फ सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने भएको छ। हुम्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्मका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार हिल्सामा करिब दुईदेखि अढाइ फिटसम्म हिउँ जमेको छ।
हिल्सा पुग्न नारा लेक पार गर्नुपर्ने भएकाले त्यहाँ जमेको हिउँ पन्छाउन थप समय लाग्ने उहाँले बताउनुभयो। हिल्सामा एउटा मात्र स्काभेटर रहेकाले सडक खुलाउने काममा कठिनाइ भएको र इन्धनको समेत समस्या रहेको उहाँको भनाइ छ।
स्थानीयवासी र सुरक्षाकर्मीले हिउँ पन्छाउँदै सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन्।
६ हजार १० जनाले गरे कैलाश मानसरोवर दर्शन
यस वर्ष हालसम्म हिल्सा नाका हुँदै ६ हजार १० जना पर्यटकले कैलाश मानसरोवर दर्शन गरेका छन्। अध्यागमन अधिकृत पौडेलका अनुसार कैलाश मानसरोवर जाने पर्यटकमध्ये अधिकांश भारतीय नागरिक रहेका छन्। त्यसपछि बेलायत, अमेरिका र नेपालका पर्यटक रहेका छन्।
कैलाश मानसरोवर दर्शनको मुख्य समय सकिनै लागेका बेला भएको भारी हिमपातले हिल्सा नाकाको आवतजावतसँगै स्थानीय व्यापार तथा सीमा क्षेत्रको जनजीवनसमेत प्रभावित भएको छ।
– रासस
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





