सत्य, निष्पक्ष र विश्वसनीय

१९ क्विन्टल कुखुरा र ५ लाख रुपैयाँ लुटिएको आरोप निराधार : पर्सा ग्रामीण कुखुरा व्यवसायी संघ

न्युज डेस्क
२०८३ आश्विन १६, शुक्रबार १५:४७

वीरगन्ज, १६ असोज 

 पर्सामा १९ क्विन्टल बोइलर कुखुरा र ५ लाख रुपैयाँ लुटिएको भन्ने आरोप निराधार रहेको पर्सा ग्रामीण कुखुरा व्यवसायी संघले दाबी गरेको छ।

आर्या फ्रेस हाउस एन्ड सप्लायर्सका सञ्चालक फिरोज अन्सारीले मंगलबार राति पर्साको धोबिनी गाउँपालिका–३, गुलरियास्थित क्यामुदिन पोल्ट्री फर्मका सञ्चालक क्यामुदिन मियाँले आफ्ना चालकबाट कुखुरा र रकम लुटेको आरोप लगाएका थिए। अन्सारीले बुधबार पत्रकार सम्मेलनमार्फत उक्त आरोप सार्वजनिक गरेका थिए।

उक्त आरोपको खण्डन गर्दै संघले बिहीबार जिल्ला समन्वय समिति पर्सा परिसरमा पत्रकार सम्मेलन गरी घटना लुटपाट नभएको दाबी गरेको हो।

संघका अध्यक्ष देवेन्द्र प्रसाद आजादका अनुसार क्यामुदिन मियाँले अन्सारीबाट कुखुरा बिक्रीबापत करिब साढे ६ लाख रुपैयाँ भुक्तानी लिन बाँकी थियो। पटक–पटक रकम माग्दा पनि भुक्तानी नभएपछि गाडी रोकेर कुखुरा मात्र झारिएको उनको भनाइ छ।

“क्यामुदिन मियाँले फिरोजसँग साढे ६ लाख रुपैयाँ कुखुराको बाँकी रकम लिनुपर्ने छ। पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेपछि बाध्य भएर गाडी रोकेर कुखुरा मात्र झारिएको हो,” अध्यक्ष आजादले भने।

संघले अन्सारीमाथि विभिन्न किसान तथा व्यवसायीको २५ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको आरोपसमेत लगाएको छ। अध्यक्ष आजादका अनुसार आफूले करिब १५ लाख रुपैयाँ पाउन बाँकी रहेको, बहुदरमाईका सोनम फ्रेस हाउसका सञ्चालक अनिल प्रसाद यादवको ९४ हजार, वीरगन्ज–२७ घुर्मीका दाना डिलर मनोज पटेलको २ लाख ५० हजार, वीरगन्ज–१९ विन्दवासिनीका अनिश सप्लायर्सका सञ्चालक रामअयोध्या कलवारको ४० हजार तथा आसवारीका पिन्टु पटेलको २ लाख रुपैयाँलगायत रकम अन्सारीबाट लिन बाँकी रहेको दाबी गरिएको छ।

संघका अनुसार रकम असुलीका लागि पटक–पटक सम्पर्क गर्दा पनि अन्सारी सम्पर्कमा नआएपछि व्यवसायी तथा किसानहरूले गाडी रोकेर कुखुरा झारेका थिए।

यद्यपि गाडी रोक्नु र कुखुरा नियन्त्रणमा लिनु कानुनी रूपमा उचित नभएको संघले स्वीकार गरेको छ। घटनाबारे इलाका प्रहरी कार्यालय जानकीटोलालाई जानकारी गराउँदै गाडी बुझाउन खोजिएको भए पनि प्रहरीले गाडी नबुझेको संघको दाबी छ। त्यसपछि चालकले क्यामुदिनको फर्मअगाडि गाडी पार्क गरेर वीरगन्ज फर्किएको र त्यसपछि अन्सारीले पत्रकार सम्मेलन गरी लुटपाटको आरोप लगाएको संघको भनाइ छ।

घटनाका सम्बन्धमा दुवै पक्षले प्रहरी कार्यालयमा उजुरी दिएका छन्। विवाद समाधानका लागि इलाका प्रहरी कार्यालय पोखरियाको रोहबरमा दुवै पक्षबीच छलफल भइरहेको संघले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?