सत्य, निष्पक्ष र विश्वसनीय

१५५ किलो ६३५ ग्राम गाँजासहित कार चालक पक्राउ

न्युज डेस्क
२०८३ आश्विन १६, शुक्रबार १९:५८

बारा, १६ असोज

बारा प्रहरीले जितपुर–सिमरा उपमहानगरपालिका–८, इमलीप्रतिबाट १५५ किलो ६३५ ग्राम गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार २०८३ असोज १६ गते बिहान करिब ९ बजे विशेष सूचनाका आधारमा मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको बा.१३ च ४७३४ नम्बरको कारलाई इमलीप्रतिमा रोकेर चेकजाँच गरिएको थियो।

कारको चेकजाँच गर्ने क्रममा रातो प्लास्टिकले बेरेर लुकाइछिपाई राखिएको अवस्थामा १५५ किलो ६३५ ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बस्ने २८ वर्षीय अम्बिर डिम्डुङलाई पक्राउ गरिएको छ।

प्रहरीले नियन्त्रणमा लिएको कार, बरामद गाँजा र पक्राउ परेका डिम्डुङलाई इलाका प्रहरी कार्यालय सिमरा, बारामा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?