बाढीपहिरोबाट पर्वतमा ३०० परिवार विस्थापित
पर्वत, १८ असोज
बाढीपहिरोका कारण पर्वतमा करिब ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १३१ घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका सात स्थानीय तहमध्ये छवटा पालिकाका विभिन्न बस्तीमा बाढीपहिरोले क्षति पुर्याएको हो । सबैभन्दा बढी क्षति जलजला गाउँपालिकामा भएको छ । त्यहाँ ११३ घरमा ठूलो क्षति पुगेको छ भने थप ५८ घर पहिरोको उच्च जोखिममा छन् । जलजलामा मात्रै १७१ परिवार विस्थापित भएका छन् ।
कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । जिल्लाभर १३१ घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
बाढीपहिरोका कारण पाँचवटा विद्यालय भवनसहित कृषि फार्म, मन्दिर, स्वास्थ्य संस्था र प्रहरी चौकीमा समेत क्षति पुगेको छ । पर्वत–बागलुङ जोड्ने झोलुङ्गे पुल तथा मध्यपहाडी लोकमार्गअन्तर्गत मालढुंगा पुलमा पनि क्षति पुगेको प्रशासनले जनाएको छ ।
बाढीपहिरोका कारण जिल्लाका ग्रामीण सडक अझै अवरुद्ध छन् । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–बिहादी र लुङ्खुदेउराली–हुवास सडक सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।
विस्थापित परिवारलाई स्थानीय प्रशासन, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न सामाजिक संघसंस्थाले त्रिपाल, खाद्यान्न, भाँडाकुँडा, ओढ्ने–ओछ्याउने सामग्री, सरसफाइका सामग्री तथा स्वास्थ्य उपचार सामग्री उपलब्ध गराइरहेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





