बिरामी बालिकालाई संवेदनशील अंगमा छोएको आरोपमा स्वास्थ्यकर्मीमाथि कुटपिट
रुपन्देही, १८ असोज
बाँकेको कोहलपुरस्थित थापा मेडिकलमा स्वास्थ्य जाँचका क्रममा बालिकाको संवेदनशील अंगमा छोएको आरोपमा एक स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले कुटपिट गरेका छन् ।

कुटपिटमा पर्ने स्वास्थ्यकर्मी डाक्टर नभई सिएमए अध्ययन गरेका गणेशबहादुर थापा रहेको खुलेको छ । शनिबार मेडिकलमै पुगेर बालिकाका आफन्तले थापामाथि कुटपिट गरेका हुन् । घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ ।
पेट दुखेपछि उपचारका लागि मेडिकल पुगेकी बालिकाले स्वास्थ्य जाँचका क्रममा आफूलाई असहज हुने गरी संवेदनशील अंगमा छोएको भन्दै आफन्तलाई जानकारी गराएको बताइएको छ । त्यसपछि आफन्तहरू मेडिकलमा पुगेर थापामाथि हातपात गरेको जनाइएको छ ।
यता, स्वास्थ्यकर्मी थापाले भने बालिकाले सेतो पानी बग्ने, गानोगोला हुने र तल्लो पेट दुख्ने समस्या बताएपछि बिरामीकै आग्रहमा स्वास्थ्य जाँच गरेको दाबी गरेका छन् । आफूले कुनै गलत उद्देश्यले जाँच नगरेको उनको भनाइ छ ।
बाँके प्रहरीका सूचना अधिकारी प्रतितसिंह राठौरका अनुसार कुटपिटमा परेका स्वास्थ्यकर्मीलाई शनिबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न अर्को पक्षलाई पनि आइतबार बोलाएर आवश्यक अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।
घटनाबारे प्रहरीले दुवै पक्षको भनाइ तथा उपलब्ध प्रमाणका आधारमा अनुसन्धान गरिरहेको जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





