सत्य, निष्पक्ष र विश्वसनीय

प्रहरीद्वारा चामल नियन्त्रणमा लिएपछि कृष्णनगरका व्यापारीले गरे आत्मदाहको प्रयास

न्युज डेस्क
२०८३ आश्विन २८, बुधबार १५:५२

कृष्णनगर, २८ असोज 

 कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित बैंकरोडमा प्रहरीको अनुगमनका क्रममा चामल नियन्त्रणमा लिएपछि आफू अन्यायमा परेको भन्दै एक व्यवसायीले आत्मदाहको प्रयास गरेका छन्।

स्थानीयका अनुसार लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले चामल बोकेको पिकअप जाँच गर्ने क्रममा आवश्यक कागजात नभेटिएको भन्दै थप कारबाहीका लागि चामल भन्सार कार्यालयमा बुझाएपछि गल्ला पसल सञ्चालक महेश अग्रहरीले शरीरमा मट्टितेल छर्केर आगो लगाउने प्रयास गरेका हुन्।

शरीरमा मट्टितेल छर्केर आगो लगाउन खोजेका अग्रहरीलाई प्रहरीले तत्काल उद्धार गरेको थियो। घटनापछि बेहोस भएका उनलाई उपचारका लागि सुरुमा तौलिहवा अस्पताल लगिएको र थप उपचारका लागि रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ।

अग्रहरीले आफूले ल्याएको ६० बोरा चामलको बिलबिजक हुँदाहुँदै पनि प्रहरीले चामल नियन्त्रणमा लिएको दाबी गरेका छन्। चामलको कागजात हुँदाहुँदै नियन्त्रणमा लिइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेको स्थानीयको भनाइ छ।

यसैबीच, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शारदाप्रसाद चौधरीले प्रहरीको चेकजाँचका क्रममा व्यवसायीले शरीरमा मट्टितेल छर्केर आगो लगाउने प्रयास गरेको पुष्टि गरेका छन्।

उनका अनुसार प्रहरी र स्थानीयको सहयोगमा अग्रहरीलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको हो। शरीरमा आगो नलागे पनि मट्टितेलका कारण असर देखिएपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएको उनले बताए।

‘प्रहरीले चेकजाँच गरेको हो। घटनाको सम्पूर्ण विवरण आइसकेको छैन। उनी आवेशमा आएर शरीरमा मट्टितेल छर्केर आगो लगाउन खोजेपछि प्रहरीले नै जोगाएको हो,’ सूचना अधिकारी चौधरीले नेपाल प्रेससँग भने।

घटनापछि चामल नियन्त्रणमा लिनुको कारण, व्यवसायीले दाबी गरेअनुसार बिलबिजकको अवस्था र प्रहरीको कारबाही प्रक्रियाबारे थप विवरण आउन बाँकी छ। घटनाको वास्तविकता स्पष्ट पार्न सम्बन्धित निकायबाट निष्पक्ष छानबिन आवश्यक देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?