सत्य, निष्पक्ष र विश्वसनीय

झापामा जमिनमुनिको डिजेल ट्याङ्की पड्किएर आगलागी, एक जना घाइते

न्युज डेस्क
२०८३ कार्तिक ९, आईतवार २२:१२

झापा, ८ कात्तिक

झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की अचानक पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन्। आगलागीबाट टिफरमा सामान्य क्षति पुगेको छ भने ट्याङ्कीमा भण्डारण गरिएको करिब ९ हजार ५०० लिटर लाइट डिजेल जलेर नष्ट भएको छ।

प्राप्त विवरणअनुसार, आइतबार साँझ करिब ७:३० बजे कम्पनी परिसरमा जमिनमुनि रहेको ट्याङ्कीबाट प्रदेश १–०१–००१ क १८०० नम्बरको टिफरमा डिजेल लोड गर्ने क्रममा अचानक ट्याङ्की पड्किएपछि आगलागी भएको हो।

आगलागीको रापले टिफर चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ निवासी ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र उनी घटनास्थलमै रहेको जनाइएको छ।

घटनापछि आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक महेन्द्र पराजुलीको कमाण्डमा प्रहरी टोली खटिएको छ। शिवसताक्षी नगरपालिकाको दमकल तथा कम्पनीका कर्मचारीसमेत आगो नियन्त्रणमा लिन र थप फैलिन नदिन प्रयासरत रहेका छन्।

समाचार तयार पार्दासम्म आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको थिएन। ट्याङ्की पड्किएर आगलागी हुनुको कारणबारे भने विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?