सत्य, निष्पक्ष र विश्वसनीय

सिरहामा खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ

न्युज डेस्क
२०८३ कार्तिक १०, सोमबार ०५:२७

सिरहा, ९ कार्तिक

सिरहा प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थ र लागुऔषध कारोबारमा प्रयोग भएको आशंकामा दुई जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार २०८२ साल ७ महिनाको ८ गते साँझ ६:३० बजे गोलबजार नगरपालिका–४ स्थित निपनिया चोकमा संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उत्तरतर्फ जाँदै गरेको प्रदेश २–०१–००६ प ५२३९ नम्बरको एफजेडएस मोटरसाइकल रोकेको थियो।

मोटरसाइकल चालक सुखिपुर नगरपालिका–५ निवासी ३९ वर्षीय अजयकुमार यादवको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ प्लास्टिकसहित ५८.५२ ग्राम (प्लास्टिकबाहेक ५३.०३ ग्राम) र एक थान स्क्रिन टच मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, मोटरसाइकलको पछाडि सवार सुखिपुर नगरपालिका–१० निवासी २५ वर्षीय अरविन्दकुमार यादवको साथबाट एसीई नामक डिजिटल तराजु एक थान बरामद गरिएको छ।

प्रहरीले बरामद पदार्थ, मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गोलबजार, सिरहामा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?