सत्य, निष्पक्ष र विश्वसनीय

डलर देखाएर ठगी तथा लुटपाट गर्ने व्यक्ति प्रहरीको गोली लागेर घाइते, एक प्रहरी पनि घाइते

न्युज डेस्क
२०८३ कार्तिक २१, शुक्रबार २१:४५

काठमाडौं, २० कात्तिक
काठमाडौंका विभिन्न स्थानमा अमेरिकी डलर देखाएर ठगी तथा लुटपाट गर्दै हिँडेको आरोपमा एक व्यक्ति प्रहरीको गोली लागेर घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका–३ घर भई हाल काठमाडौंमा बस्दै आएका २८ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीमाथि गोली चलाइएको हो ।

प्रहरीका अनुसार गत १९ कात्तिकमा साँझ करिब ६ः४५ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित सडकखण्डमा फेला परेका तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिन खोजेको थियो ।

सो क्रममा तामाङले प्रहरीमाथि धारिलो हतियार चक्कु प्रहार गर्दा एक जना प्रहरी घाइते भएका थिए । त्यसपछि प्रहरीले चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गर्दा पनि उनले आक्रमणको प्रयास जारी राखेपछि प्रहरीले घुँडामुनि लक्षित गरी एक राउन्ड गोली चलाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गोली लागेर घाइते भएका तामाङलाई नियन्त्रणमा लिई उपचारका लागि ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा तामाङविरुद्ध काठमाडौं, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोकका विभिन्न स्थानमा ठगीसम्बन्धी मुद्दा दर्ता भएको खुलेको छ ।

प्रहरीले उनको साथबाट ठगीमा प्रयोग हुने विभिन्न सामग्रीसमेत बरामद गरेको छ । बरामद सामग्रीमा मोटरसाइकल तथा नक्कली नम्बर प्लेट, २० रुपैयाँका नेपाली नोटका चार बन्डल, अमेरिकी डलरजस्तै आकारमा काटिएको सेतो कागजको बन्डल, कागजको बन्डलमा राखिएका अमेरिकी डलर, करिब एक किलो नक्कली सुनको ढिक्का र विभिन्न कम्पनीका मोबाइल फोन रहेका छन् ।

डलर देखाएर सर्वसाधारणलाई झुक्याउँदै ठगी तथा लुटपाट गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?