सत्य, निष्पक्ष र विश्वसनीय

सार्वजनिक बसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

न्युज डेस्क
२०८३ कार्तिक २१, शुक्रबार १२:२१

कञ्चनपुर, २० कार्तिक

सार्वजनिक यातायातमा सवार महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा कञ्चनपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत कार्तिक १७ गते काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख २१६३ नम्बरको रात्रिबसमा सवार एक महिला यात्रुमाथि तीन जनाले हातपात तथा अभद्र व्यवहार गरेको घटना सार्वजनिक भएको हो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कार्तिक १९ गते तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१ भाँसी निवासी २१ वर्षीय शम्भु विष्ट, २४ वर्षीय अनिल नाथ र भीमदत्त नगरपालिका–३ तिलकपुर निवासी २१ वर्षीय जीवन बम रहेका छन् ।

प्रहरीले पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले प्रेस विज्ञप्तिमार्फत घटनाबारे जानकारी दिएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?