सत्य, निष्पक्ष र विश्वसनीय

प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपति पौडेललाई पत्रकार महासंघको आग्रह

न्युज डेस्क
२०८३ कार्तिक २१, शुक्रबार १५:१२

काठमाडौं , २० कार्तिक

नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ ।

महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्यसहितको टोलीले शुक्रबार राष्ट्रपति पौडेलसँग भेट गरी अध्यादेशका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे ध्यानाकर्षण गराएको हो ।

महासंघले सरोकारवाला पक्षसँग पर्याप्त छलफल र परामर्श नगरी संसद्लाई छलेर अध्यादेशमार्फत कानुन ल्याउने प्रक्रिया लोकतान्त्रिक विधि र प्रक्रियासँग मेल नखाने जनाएको छ ।

यसअघि समाचार कक्षमा प्रवेश गरी प्रहरीले पत्रकारमाथि धरपकड गरेको घटनाप्रति स्वतन्त्र छानबिन गरी दोषीलाई कारबाही नगर्दै सरकारले अध्यादेश ल्याएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई थप प्रभावित बनाएको महासंघको भनाइ छ । महासंघले संवैधानिक जिम्मेवारीअनुसार राष्ट्रपतिलाई आफ्नो विवेक प्रयोग गर्न आग्रह गरेको छ ।

राष्ट्रपतिसँगको भेटमा महासंघले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको स्मरण गराउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग प्रत्यक्ष सरोकार राख्ने कानुन निर्माण गर्दा नियमित विधायिकी प्रक्रिया अवलम्बन गर्नुपर्ने धारणा राखेको छ ।

यसैबीच, महासंघद्वारा कात्तिक १९ गते ललितपुरमा आयोजित छलफलमा पूर्वअध्यक्ष, वरिष्ठ पत्रकार, कानुन व्यवसायी तथा मानवअधिकारकर्मीहरूले पनि अध्यादेशका प्रावधान संविधानको मर्मविपरीत रहेको भन्दै राष्ट्रपतिलाई विवेक प्रयोग गर्न आग्रह गरेका थिए ।

उक्त भेलाले अध्यादेश फिर्ता लिन सरकारलाई समेत आग्रह गरेको थियो ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष आग्रह गरिएको उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?