मधेस प्रदेश सरकारबाट नेकपाका चार मन्त्रीले दिए राजीनामा, नयाँ सत्ता समीकरणको बाटो खुल्दै
जनकपुरधाम, २१ कात्तिक
मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिएको छ। नेकपाका चार मन्त्रीले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष राजीनामा बुझाएका छन्।

नेकपा संसदीय दलको भर्चुअल बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहाले पदबाट राजीनामा दिएका हुन्।
गत असोज ३० गते नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेको थियो। सरकारलाई विश्वासको मत लिनुपर्ने समयसीमा नजिकिँदै गर्दा नेकपाका मन्त्रीहरूले समेत राजीनामा दिएका हुन्।
निवर्तमान ऊर्जामन्त्री जवाहर कुशवाहाका अनुसार सरकारलाई राजनीतिक निकास दिन र नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन राजीनामा दिइएको हो। सरकारको कामकारबाहीप्रति असन्तुष्टि भएर नभई प्रदेशमा देखिएको राजनीतिक तथा संसदीय अल्पमतको समस्यालाई समाधान गर्न आफूहरूले पद त्यागेको उनले स्पष्ट पारे।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले अब आठ दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था छ। नेकपाका चार मन्त्रीले राजीनामा दिएसँगै सरकारमाथि थप राजनीतिक दबाब सिर्जना भएको छ।
यता, नयाँ सत्ता समीकरणमा नेकपा कुन दलसँग सहकार्य गर्ने भन्ने विषयमा भने तत्काल कुनै निर्णय सार्वजनिक भएको छैन। नेकपाको बहिर्गमनसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलबीच हुने राजनीतिक समीकरण निर्णायक बन्ने देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





