सत्य, निष्पक्ष र विश्वसनीय

बाराको डुमरवानामा युवक मृत फेला, पत्नी फरार, घटनाबारे प्रहरीले थाल्यो अनुसन्धान

न्युज डेस्क
२०८३ कार्तिक २२, शनिबार १४:०३


बारा, २१ कात्तिक

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा एक युवक मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा स्थानीय ३० वर्षीय वीरेन्द्र माझी रहेका छन्। उनको शव जीतपुरसिमरा–१५ स्थित विशेष आर्थिक क्षेत्र (सेज) को खेतमा रहेको कुलोमा फेला परेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिएका छन्।
शनिबार बिहान खेतमा काम गर्न गएका स्थानीयले कुलोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। पारिवारिक स्रोतका अनुसार ट्र्याक्टर चालकका रूपमा काम गर्दै आएका माझी शुक्रबार साँझ घरबाट निस्किएका थिए।
प्रहरीका अनुसार घटनास्थलमा नयाँ कपडासहितको झोलासमेत फेला परेको छ। घटनापछि मृतककी श्रीमती सम्पर्कविहीन रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
युवकको मृत्यु कसरी र के कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाको वास्तविकता पत्ता लगाउन थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?