सत्य, निष्पक्ष र विश्वसनीय

सिन्धुलीमा अटो दुर्घटना : गर्भवती महिलासहित ७ जना घाइते, ५ जनाको अवस्था गम्भीर

न्युज डेस्क
२०८३ कार्तिक २२, शनिबार १५:२७



सिन्धुली, २१ कात्तिक

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो १ः३० बजे झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१-००१ स ८१४० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेको थियो।
दुर्घटनामा अटो चालक मकवानपुरको बागमती गाउँपालिका–१ निवासी ४० वर्षीय गंगा घिसिङ मध्यम घाइते भएका छन्। यस्तै, नामथर र वतन नखुलेकी अन्दाजी ३२/३३ वर्षीया गर्भवती महिला, १९ वर्षीया कान्छीमाया पहरी, उनकी ३ वर्षीया छोरी समीक्षा पहरी, ९ वर्षीय प्रवास पहरी, ७ वर्षीया स्वस्तिका पहरी तथा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ ककरे निवासी ६० वर्षीया पातलीमाया भोलन गम्भीर घाइते भएका छन्।
घाइतेमध्ये बालबालिकासमेत रहेका छन्। ९ वर्षीय प्रवास पहरीको निधार र अनुहारमा चोट लागेको तथा बोल्न नसक्ने अवस्थामा रहेको जनाइएको छ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि मकवानपुरतर्फ पठाइएको छ।
घटनापछि प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?