देउसी भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ
रुपन्देही , २६ कार्तिक
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवार बजारमा सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले कात्तिक २६ गते राति करिब १२ः०५ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत रहेको जिल्ला प्रहरीका सूचना अधिकारी चन्द्रकिशोर शाहले जानकारी दिए।

उनीहरूलाई सार्वजनिक हित र नैतिकता विरुद्धको कसूरमा नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक शिष्टाचारविपरीत परम्परागत देउसी भैलो कार्यक्रममा अमर्यादित तथा अश्लील गतिविधि गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





