सत्य, निष्पक्ष र विश्वसनीय

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त, माला लगाएर घरमा स्वागत

न्युज डेस्क
२०८३ कार्तिक २७, बिहीबार १०:४४

काठमाडौं, २६ कात्तिक
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार कैद छुट पाएपछि उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

काठमाडौँ जिल्ला अदालतको आदेश र संशोधित कैदीपुर्जीका आधारमा रायमाझीलाई रिहा गरिएको हो । तिहारअघि नै अदालतबाट रिहाइसम्बन्धी पत्र प्राप्त भएकाले बिहीबार उनलाई कारागारमुक्त गरिएको डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले जानकारी दिए ।

रायमाझीले ज्येष्ठ नागरिकको उमेरका आधारमा कैद छुट पाउन अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कानुनी व्यवस्थाअनुसार कैद छुट सुविधा प्रदान गरी संशोधित कैदीपुर्जी जारी गरेको थियो ।

बिहीबार बिहान ७ बजे कारागारबाट बाहिरिएका रायमाझीलाई लिन पुगेका लिला केसीका अनुसार उनी अहिले सातदोबाटोस्थित घरमा पुगेका छन् । केही दिन आराम गरेपछि गृहजिल्ला अर्घाखाँची जाने तयारी रहेको उनले बताए ।

तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर भएका थिए । काठमाडौँ जिल्ला अदालतले उनलाई विभिन्न कसुरमा कैद तथा जरिवानाको सजाय सुनाएको थियो ।

उक्त प्रकरणमा रायमाझीलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना, राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाइएको थियो ।

गम्भीर प्रकृतिको राजनीतिक तथा आर्थिक अपराधका रूपमा चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक तहका व्यक्तिहरू मुछिएका थिए । सो प्रकरणमा दोषी ठहर भएका रायमाझीको रिहाइ भने ज्येष्ठ नागरिकसम्बन्धी कानुनी सुविधाअनुसार भएको हो ।

कारागारबाट रिहा भएपछि रायमाझीलाई परिवार तथा आफन्तले घरमा टीकामाला लगाएर स्वागत गरेका छन् । उनको रिहाइसँगै आगामी राजनीतिक तथा सार्वजनिक जीवनमा उनको भूमिका कस्तो रहने भन्ने विषयमा चासो बढेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?