सत्य, निष्पक्ष र विश्वसनीय

काठमाडौं–दक्षिणकाली हुँदै हेटौँडा जाने सवारीलाई समयसीमा, साँझ ५ बजेसम्म फर्पिङ पुग्नुपर्ने

न्युज डेस्क
२०८३ कार्तिक २८, शुक्रबार २१:१५

काठमाडौं , २७ कार्तिक
काठमाडौं–बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले समयसीमा निर्धारण गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार उक्त सडक खण्डमा बढ्दो सवारी दुर्घटना तथा मानवीय क्षति न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको हो।

सूचनामा काठमाडौंबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारीसाधन साँझ ५ बजेसम्ममा प्रहरी चेकपोस्ट फर्पिङ पुगिसक्नुपर्ने उल्लेख छ। त्यस्तै, बिहान ५ बजेपछि मात्रै बल्खुबाट उक्त रुटमा यात्रुवाहक तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

सवारीसाधन सञ्चालन गर्नुअघि पूर्ण रूपमा यान्त्रिक अवस्था जाँच गर्नुपर्ने र उक्त रुटमा पर्ने प्रहरी इकाइ तथा ट्राफिक प्रहरीले प्रत्येक सवारीसाधनको कडाइका साथ जाँच गर्नुपर्ने सूचनामा उल्लेख छ।

साँघुरा सडक, तीव्र गति, चालकको लापरवाही, अनिद्रा, अत्यधिक तनाव तथा मादक पदार्थ र लागुऔषध सेवनका कारण दुर्घटनाको जोखिम बढेको भन्दै यात्रुको सुरक्षालाई ध्यानमा राखेर उक्त व्यवस्था लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले सम्बन्धित यातायात व्यवसायी, चालक तथा यात्रुलाई निर्धारित समय र सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?