सत्य, निष्पक्ष र विश्वसनीय

पूर्वमन्त्री प्रदीप यादवको पहलमा छठ व्रतालु ३५० महिलालाई साडी र गहुँको पीठो वितरण

न्युज डेस्क
२०८३ कार्तिक २८, शुक्रबार ०७:२३

वीरगन्ज, २७ कार्तिक
वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा छठ पर्व मनाउने आर्थिक रूपमा विपन्न ३५० जना महिलालाई साडी र गहुँको पीठो वितरण गरिएको छ ।

पूर्वमन्त्री प्रदीप यादवको पहलमा रुंगटा वेलफेयर सोसाइटीले बिहीबार छठ पर्वका व्रतालु महिलालाई साडी तथा पूजा सामग्रीका लागि गहुँको पीठो वितरण गरेको हो ।

सोसाइटीका अध्यक्ष सुरेश रुंगटाका अनुसार आर्थिक रूपमा विपन्न दलित तथा अन्य समुदायका ३५० जना महिलालाई जनही एक थान साडी र छठ पूजाको प्रसाद बनाउन दुई किलो गहुँको पीठो प्रदान गरिएको हो ।

छठ पर्व धार्मिक आस्थासँगै मानवीय सहयोग र सहानुभूतिको पर्व पनि भएको उल्लेख गर्दै अध्यक्ष रुंगटाले आर्थिक रूपमा कमजोर समुदायका महिलासँग पर्वको खुसी बाँड्न पाउनु गर्वको विषय भएको बताए ।

रुंगटा वेलफेयर सोसाइटीले समाजका विपन्न, असहाय तथा सहयोग आवश्यक पर्ने व्यक्तिहरूका लागि निरन्तर मानवसेवामूलक कार्य गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

यसअघि मंगलबार सोसाइटीले वीरगन्ज कारागारमा रहेका ६३ जना महिला कैदीबन्दीलाई पनि छठ पर्व मनाउन जनही एक थान साडी वितरण गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?