त्रिभुवन विमानस्थलबाट ५.५ किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं, २९ कात्तिक
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलो सेतो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार थाइल्यान्डबाट नेपाल आएका भारत महाराष्ट्रको पुणेका ५२ वर्षीय रेवराज तिघारे पक्राउ परेका हुन्।

हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिहरूमार्फत लागूऔषध ओसारपसार हुन सक्ने आशंकामा निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा ब्यूरोको विमानस्थलस्थित शाखा कार्यालय र विमानस्थलमा खटिएको प्रहरी टोलीले उनलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।
मिति २०८३ कात्तिक २८ गते गरिएको चेकजाँचका क्रममा उनले साथमा ल्याएको लगेज (झोला) भित्र र बिरालोको खानाको प्याकेटमा लुकाएर राखिएको अवस्थामा सेतो हेरोइन बरामद गरिएको ब्यूरोले जनाएको छ।
प्रहरीले उनको साथबाट ५.५ किलो सेतो हेरोइन, एक थान राहदानी र एक थान मोबाइल फोन बरामद गरेको छ।
ब्यूरोका अनुसार बरामद लागूऔषधको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ रहेको छ। उक्त हेरोइन भारत पुर्याएपछि त्यहाँको बजारमा अझ महँगो मूल्यमा बिक्री हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार पक्राउ परेका तिघारे अन्तर्राष्ट्रिय लागूऔषध कारोबार सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको अनुसन्धानबाट खुलेको छ। उनीसँग मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको छ।
लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। उक्त ऐनअनुसार ५ किलोभन्दा बढी सेतो हेरोइन कारोबारमा संलग्न व्यक्तिलाई १५ वर्षदेखि जन्मकैदसम्म र २५ लाखदेखि २५ करोड रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





