सत्य, निष्पक्ष र विश्वसनीय

एनपीएलमा अब उपाधिका लागि चार टोलीबीच प्रतिस्पर्धा

न्युज डेस्क
२०८३ मंसिर १, सोमबार ०९:५०

काठमाडौं, ३० कात्तिक
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत लिग चरणका सबै २८ खेल सम्पन्न भएसँगै प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागेको छ । अब उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्ससहित सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गरेपछि प्लेअफको वरीयता पनि निर्धारण भएको हो । जितसँगै पोखराले प्रतियोगिताबाट सुखद बिदाइ गरेको छ भने काठमान्डुले दोस्रो स्थानमा पुग्ने अवसर गुमाएको छ ।

लिग चरणमा सात खेलबाट ११ अंक जोड्दै लुम्बिनी लायन्स शीर्ष स्थानमा रहन सफल भएको छ । पाँच खेलमा जित, एक खेलमा हार र एक खेलमा नतिजा ननिस्किएको लुम्बिनीले एनपीएलमा पहिलोपटक लिग चरणको शीर्ष स्थान हासिल गरेको हो ।

त्यस्तै, १० अंक जोडेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । लगातार तेस्रो संस्करण प्लेअफमा स्थान बनाएको सुदूरपश्चिम यसअघि दुवै संस्करणमा फाइनल पुगे पनि उपाधि जित्न सकेको थिएन । यसपटक पहिलो क्वालिफायर जित्दै पुनः फाइनल पुग्ने लक्ष्यमा सुदूरपश्चिम हुनेछ ।

पहिलो क्वालिफायर मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । उक्त खेलको विजेता टोली सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले फाइनल पुग्ने अर्को अवसर पाउनेछ ।

यस्तै, आठ अंकसहित तेस्रो स्थानमा रहेको काठमान्डु गोर्खाजले इलिमिनेटरमा चितवन राइनोजको सामना गर्नेछ । सात अंक जोड्दै चौथो स्थानमा रहेको चितवन पनि प्लेअफमा पुगेको हो ।

बुधबार हुने इलिमिनेटरमा पराजित हुने टोलीको उपाधि यात्रा समाप्त हुनेछ । विजेता टोलीले बिहीबार पहिलो क्वालिफायरमा पराजित भएको टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ ।

लिग चरणको समाप्तिसँगै विराटनगर किंग्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सको प्रतियोगिताबाट यात्रा टुंगिएको छ ।

अब एनपीएलको तेस्रो संस्करणको उपाधिका लागि चार टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?