सत्य, निष्पक्ष र विश्वसनीय

विश्वकप छनोट प्ले–अफको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल इटलीसँग खेल्ने

न्युज डेस्क
२०८३ कार्तिक २३, आईतवार ०८:४९

काठमाडौं , २२ कार्तिक
नेपालमा आयोजना हुन लागेको आईसीसी विश्वकप छनोट प्ले–अफ प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले डिसेम्बर ४ अर्थात् मंसिर १८ गते इटलीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेपालले आफ्नो दोस्रो खेल मंसिर २० गते युगाण्डासँग खेल्नेछ। त्यसपछि मंसिर २४ गते संयुक्त अरब इमिरेट्स (यूएई), मंसिर २६ गते जर्सी र मंसिर २८ गते क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै, नेपालले पुस ३ गते नामिबिया र पुस ६ गते कुवेतसँग खेल्ने तालिका रहेको छ।

प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता रहनेछ। आईसीसी विश्वकप क्रिकेट लिग–२ को पुछारमा रहेका नेपाल, नामिबिया, क्यानडा र यूएईसँगै च्यालेन्ज लिगबाट छनोट भएका इटली, कुवेत, युगाण्डा र जर्सीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

यस प्रतियोगिताको अङ्क तालिकामा शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्नेछन्।

यता, आईसीसी विश्वकप क्रिकेट लिग–२ को शीर्ष चारमा रहेका अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले भने यसअघि नै ग्लोबल क्वालिफायरमा आफ्नो स्थान पक्का गरिसकेका छन्।

घरेलु मैदानमा हुने प्रतियोगितामार्फत नेपाललाई विश्वकप यात्रालाई थप बलियो बनाउने अवसर प्राप्त हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?