सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्जमा केपीएल सिजन–२ को ट्रफी अनावरण, आठ टोलीले प्रतिस्पर्धा गर्ने

न्युज डेस्क
२०८३ कार्तिक २३, आईतवार १४:५४

वीरगञ्ज , २२ कार्तिक
वीरगञ्जमा आयोजना हुन लागेको कायस्थ प्रिमियर लिग (केपीएल) सिजन–२ को ट्रफी शनिबार अनावरण गरिएको छ। श्री चित्रगुप्त समिति र चित्रांश युवा क्लब वीरगञ्जको संयुक्त आयोजनामा प्रतियोगिता आगामी कात्तिक २३ र २४ गते आदर्शनगरस्थित खेल मैदानमा सञ्चालन हुने भएको छ।

आयोजकका अनुसार प्रतियोगिता दुवै दिन बिहान ७ बजेदेखि सुरु हुनेछ। प्रतियोगिताको तयारी श्री चित्रगुप्त समितिका अध्यक्ष महेश दास, चित्रांश युवा समितिका संयोजक राजन श्रीवास्तव र केपीएल सिजन–२ का संयोजक नितेस कर्णको नेतृत्वमा भइरहेको छ।

प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीमा कायस्थ किङ्स, कायस्थ याक्स, चित्रांश सुपर किङ्स, वीरगञ्ज चित्रांश लायन्स, चित्रांश वारियर्स, वीरगञ्ज कायस्थ एभेन्जर्स, वीरगञ्ज कायस्थ टाइटन्स र रोयल चित्रांश रहेका छन्।

‘थ्रिलर म्याचेज टु कम’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले कायस्थ समुदायका युवामा खेलकुदप्रतिको रुचि बढाउनुका साथै आपसी एकता, भाइचारा र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा आयोजकले गरेका छन्।

आयोजकले प्रतियोगितामा सहभागी भई खेलाडीहरूको हौसला बढाउन सम्पूर्ण खेलप्रेमी तथा नगरवासीलाई उपस्थितिका लागि आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?