सत्य, निष्पक्ष र विश्वसनीय

मकवानपुरमा कारको डिकीबाट ११७ किलो ९१० ग्राम गाँजा  बरामद, चालक फरार

न्युज डेस्क
२०८३ मंसिर ४, बिहीबार ०९:३१

मकवानपुर, ३ मंसिर मकवानपुरमा प्रहरीले कारको डिकीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। भीमफेदी गाउँपालिका–२ भैँसेस्थित चेकपोस्टमा नियमित चेकजाँचका क्रममा प्रहरीले ११७ किलो ९१० ग्राम गाँजा बरामद गरेको हो। गाँजा बरामद भए पनि कार चालक भने फरार भएका छन्।

प्रहरीका अनुसार गएराति करिब १ः४० बजे पालुङबाट भैँसेतर्फ आउँदै गरेको बीएबी ४४३१ नम्बरको कारलाई नियमित चेकजाँचका क्रममा रोकेर जाँच गर्न खोजिएको थियो। सो क्रममा चालकले कारको डिकीमा केही नरहेको बताउँदै प्रहरीलाई छल्ने प्रयास गरेका थिए।

तर, चालक अचानक फरार भएपछि प्रहरीले कारको डिकी खोलेर जाँच गर्दा साना–ठूला गरी गाँजाका ९ वटा पोका फेला पारेको थियो। बरामद गाँजा तौल गर्दा ११७ किलो ९१० ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार चालकको खोजी कार्य तीव्र पारिएको छ। प्रहरीले बरामद गाँजा र कारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

बरामद गाँजा ओसारपसारमा संलग्न व्यक्तिको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?