एनपीएलसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा अनलाइन सट्टेबाजी गराउने ५ जना पक्राउ
दाङ, ५ मंसिर
नेपाल प्रिमियर लिग (एनपीएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा दाङबाट पाँच जना पक्राउ परेका छन्।
लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजबाट उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ७ः३० बजे होटलको तेस्रो तलामा रहेका कोठा नम्बर २०३ र २०४ भाडामा लिएर अनलाइन सट्टेबाजीका प्लेटफर्म सञ्चालन भइरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले खानतलासी गरेको थियो।
खानतलासीका क्रममा उनीहरूले ‘Kush 777’ लगायतका अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी कारोबार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा एक जना नेपाली र चार जना भारतीय नागरिक रहेका छन्।
प्रहरीले सट्टेबाजीको कारोबारमा प्रयोग भएका विभिन्न कम्पनीका दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन गरी जम्मा १८ थान विद्युतीय उपकरण बरामद गरेको छ।
पक्राउ परेका पाँचै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमही, दाङमा राखिएको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





