सत्य, निष्पक्ष र विश्वसनीय

सुदूरपश्चिमलाई च्याम्पियन बनाउँदै दीपेन्द्रले थपे फ्रेन्चाइज क्रिकेटमा अर्को सफलता

न्युज डेस्क
२०८३ मंसिर ७, आईतवार १०:५६

काठमाडौं , ६ मंसिर
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेसँगै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नो फ्रेन्चाइज क्रिकेट करियरमा अर्को महत्त्वपूर्ण उपलब्धि थपेका छन्। सुदूरपश्चिमलाई पहिलोपटक एनपीएल च्याम्पियन बनाएका दीपेन्द्रले कप्तानका रूपमा तेस्रो फ्रेन्चाइज उपाधि जितेका हुन्।

यसअघि दीपेन्द्रले सन् २०१९ मा सीवाईसी अत्तरियालाई धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि दिलाएका थिए। त्यसपछि सन् २०२२ मा उनको कप्तानीमा लुम्बिनी अल स्टार्सले पहिलो नेपाल टी–२० लिगको उपाधि जितेको थियो।

सन् २०१७ मा एभरेस्ट प्रिमियर लिग (ईपीएल) का ६ मार्की खेलाडीमध्ये एक बनेका दीपेन्द्रको फ्रेन्चाइज क्रिकेट यात्रा निकै कम उमेरमै सुरु भएको थियो। उनी त्यतिबेला चितवन टाइगर्सका मार्की खेलाडी थिए।

त्यसयता उनले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका छन्। उमेर समूहको क्रिकेटदेखि राष्ट्रिय टोलीको उपकप्तान र कप्तानसम्मको जिम्मेवारी सम्हालिसकेका दीपेन्द्रको नेतृत्व क्षमता फ्रेन्चाइज क्रिकेटमा पनि देखिएको छ।

यू–१९ टोलीको नेतृत्व गर्दा भारतलाई पराजित गरेको अनुभवदेखि फ्रेन्चाइज टोलीलाई उपाधि दिलाउने यात्रासम्म आइपुग्दा उनको कप्तानी अनुभव थपिँदै गएको छ।

एनपीएलको पहिलो संस्करणमा पनि दीपेन्द्रकै कप्तानीमा सुदूरपश्चिम फाइनल पुगेको थियो। तर, जनकपुर बोल्ट्ससँग पराजित भएपछि टोली उपविजेतामा सीमित भएको थियो। दोस्रो संस्करणमा पनि सुदूरपश्चिम फाइनल पुगे पनि लुम्बिनी लायन्ससँग पराजित भएको थियो।

तेस्रो संस्करणमा भने सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जित्न सफल भयो। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भए पनि दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले ऐतिहासिक उपाधि जित्यो।

उपाधि जितेसँगै दीपेन्द्रले व्यक्तिगत रूपमा पनि प्रतियोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार हात पारे। उनले प्रतियोगिताका १० खेलमा २१७ रन बनाउनुका साथै सात विकेट लिएका थिए। यही अलराउन्ड प्रदर्शनका आधारमा उनी ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए। उनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

यसअघि पहिलो संस्करणमा पनि दीपेन्द्रले व्यक्तिगत पुरस्कार जितेका थिए। उनी ‘इलेक्ट्रिफाइङ नेपाली प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुँदै ओमोडा ई–५ विद्युतीय कार जित्न सफल भएका थिए। उक्त संस्करणमा उनले नौ खेलमा २२७ रन बनाउनुका साथै नौ विकेट लिएका थिए।

उपाधि जितेपछि कप्तान दीपेन्द्रले सबैको अथक प्रयासका कारण सफलता प्राप्त भएको बताए। उनले विदेशी खेलाडीहरूको प्रदर्शनको प्रशंसा गर्दै टोलीमा आएर अनुभव बाँड्ने सबै विदेशी खेलाडीलाई धन्यवाद दिए।

‘हाम्रो टिममा आएर अनुभव साझा गरेर हामीले यो वर्ष उपाधि जित्न सक्यौँ,’ उनले भने।

उनले नेपाली राष्ट्रिय टोलीलाई पनि निरन्तर समर्थन गर्न समर्थकहरूसँग आग्रह गरे। ‘हामीलाई समर्थन गरिरहनुहोला, नेपाली टोलीलाई पनि समर्थन गरिरहनुहोला। हामी राम्रो गर्दै जानेछौँ,’ उनले थपे।

सन् २०१७ को ईपीएलमा दीपेन्द्रसँगै मार्की खेलाडी बनेका अन्य पूर्वराष्ट्रिय खेलाडीहरू अहिले नेपाली क्रिकेटमा फरक–फरक भूमिकामा सक्रिय छन्।

त्यतिबेला राष्ट्रिय टोलीका कप्तान रहेका पारस खड्का अहिले नेपाल क्रिकेट संघ (क्यान) का सचिव छन्। राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल एनपीएलमा कर्णाली याक्सका टिम डाइरेक्टर छन्।

त्यस्तै, शरद भेषावकर काठमाडौं गोर्खाजका क्रिकेट डाइरेक्टर र शक्ति गौचन लुम्बिनी लायन्सका कन्सल्टेन्ट प्रशिक्षकका रूपमा आबद्ध छन्।

सन् २०१७ को ईपीएलमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी मार्की खेलाडीका रूपमा घोषित भएका थिए। त्यतिबेला मैदानमा खेलाडीका रूपमा रहेका यीमध्ये अधिकांश अहिले व्यवस्थापन तथा प्रशिक्षणको जिम्मेवारीमा समेत देखिएका छन्।

कप्तानका रूपमा तीनवटा फ्रेन्चाइज उपाधि जित्नुका साथै एनपीएलको तेस्रो संस्करणमा व्यक्तिगत उत्कृष्ट प्रदर्शनसमेत गरेका दीपेन्द्रका लागि यसपटकको सफलता खेल जीवनको अर्को महत्त्वपूर्ण उपलब्धि बनेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?