सांसद जनार्दन सिंह क्षेत्रीको पीएसओमाथि पदको दुरुपयोगको आरोप, श्रीमतीको किनमेलदेखि सर्वसाधारणलाई धम्क्याएको गुनासोसम्म
वीरगञ्ज , ६ मंसिर
मधेस प्रदेशका सांसद तथा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सुरक्षामा खटिएका प्रहरी कर्मचारी (पीएसओ) माथि सुरक्षा जिम्मेवारीको दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ। सांसद क्षेत्रीको निजी सवारीसाधन प्रयोग गरी उनकी श्रीमतीको सुरक्षाका नाममा व्यक्तिगत कामकाज र किनमेलमा समेत प्रहरी परिचालन हुने गरेको भन्दै स्थानीयले प्रश्न उठाएका छन्।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार आइतबार साँझ वीरगञ्ज भन्सार क्षेत्रमा सांसद क्षेत्रीको नाममा रहेको मधेस प्रदेश ०३- ००१ च ७५७७ नम्बरको स्कारपियो गाडी र एक सर्वसाधारणको गाडीबीच सामान्य रूपमा छोइएको थियो। उक्त घटनामा सर्वसाधारणको गाडीमा सामान्य स्क्र्याच परेको बताइएको छ।

तर सामान्य स्क्र्याचको विषयलाई लिएर सांसद क्षेत्रीकी श्रीमतीको सुरक्षामा खटिएका पीएसओले सर्वसाधारणसँग अभद्र व्यवहार गर्दै अनावश्यक दबाब दिएको प्रत्यक्षदर्शीहरूको भनाइ छ। उनीहरूले गाडीमा पहिलेदेखि नै रहेका पुराना टुटफुट तथा बिग्रिएका भागसमेत मर्मत गरिदिन दबाब दिएको आरोप लगाएका छन्।
स्थानीयको गुनासोअनुसार सार्वजनिक सुरक्षाका लागि खटाइएको प्रहरी कर्मचारीलाई सांसदको अनुपस्थितिमा उनकी श्रीमतीको व्यक्तिगत काम तथा किनमेलका लागि भारतको रक्सौलसम्म लैजाने गरिएको छ। सरकारी सुरक्षा जनशक्तिको प्रयोग व्यक्तिगत प्रयोजनमा भइरहेको गम्भीर विषय हो।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन, पारदर्शिता र सरकारी स्रोतसाधनको दुरुपयोग नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका बेला जनप्रतिनिधिसँग जोडिएको यस्तो विवादले सुरक्षा निकायको जिम्मेवारी र जवाफदेहितामाथि प्रश्न उठाएको छ।
यति मात्र होइन, एक स्रोतले सांसद क्षेत्रीका पीएसओमाथि सीमावर्ती क्षेत्रमा हुने अवैध तस्करीमा सहयोग पुर्याउने गरेको आरोपसमेत लगाएको छ। यद्यपि उक्त आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ र यस विषयमा सम्बन्धित निकायबाट अनुसन्धान आवश्यक देखिन्छ।
मधेस प्रदेशमा आइतबार मात्रै मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका सरोजकुमार यादवसमक्ष पनि यो विषय चुनौतीका रूपमा देखिएको छ। सार्वजनिक पद र जिम्मेवारीको आडमा प्रहरी जनशक्तिको दुरुपयोग भएको हो भने निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने स्थानीयको माग छ।
सर्वसाधारणले सामान्य सवारी दुर्घटनामा समेत कानुनी प्रक्रिया भोग्नुपर्ने अवस्थामा जनप्रतिनिधिको पहुँच र सुरक्षामा खटिएको प्रहरीको प्रभाव प्रयोग गरेर सर्वसाधारणमाथि दबाब सिर्जना गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न अहिले उठेको छ।
अब प्रश्न मुख्यमन्त्री सरोजकुमार यादव र मधेस प्रहरीतर्फ सोझिएको छ—सुरक्षा जिम्मेवारीको आडमा व्यक्तिगत प्रयोजनका लागि प्रहरी परिचालन भएको आरोपमाथि निष्पक्ष छानबिन होला कि राजनीतिक पहुँचका कारण यो विषय पनि ओझेलमा पर्नेछ?
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





