सत्य, निष्पक्ष र विश्वसनीय

मनोज केसीको नियुक्तिविरुद्ध दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

न्युज डेस्क
२०८३ मंसिर १०, बुधबार २०:१६

काठमाडौं, ९ मंसिर

सर्वोच्च अदालतले पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णय तथा उनको स्थानमा मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो। इजलासले सरकारको निर्णयसम्बन्धी कागजात तथा मन्त्रिपरिषद्को निर्णय माग गर्ने आदेशसमेत दिएको छ।

रिट निवेदक कार्कीले आफूलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र आफ्नो स्थानमा मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

अन्तरिम आदेश जारी नगर्नुको कारण खुलाउँदै इजलासले केसीलाई नेपाल सरकारको कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षकमा बढुवा तथा नियुक्ति गरिसकिएको, नियुक्तिपत्र बुझिसकेको र पदको कार्यभारसमेत सम्हालिसकेको अवस्थालाई आधार मानेको छ।

त्यस्तै, प्रहरी संगठनको नेतृत्व देशको शान्ति सुरक्षा कायम गर्ने विषयसँग प्रत्यक्ष जोडिएको सार्वजनिक महत्वको संवेदनशील विषय भएकाले तत्काल अन्तरिम आदेश जारी गर्नु उपयुक्त नहुने इजलासको ठहर छ। रिटमा उठाइएका कानुनी प्रश्नको निरूपण अन्तिम सुनुवाइका क्रममा गरिने भन्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

यसअघि तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको सरुवा प्रकरणमा पनि सर्वोच्च अदालतले यस्तै प्रक्रिया अपनाएको थियो। सुरुमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै निरन्तर सुनुवाइबाट मुद्दा टुंग्याउने बाटो रोजेको सर्वोच्चले सरकारले खरेललाई पुनः प्रहरी प्रमुखमा नियुक्त गरिसकेपछि मात्र अन्तिम फैसला सुनाएको थियो। उक्त फैसलामा सरकारले गरेको निर्णय कानुनविपरीत रहेको ठहर गरिएको थियो।

कार्की र केसी एउटै ब्याचका प्रहरी अधिकृत हुन्। प्रहरी संगठनको अवकाशसम्बन्धी व्यवस्था यथावत् रहेमा दुवै जना २०८४ चैत १८ गते एकै दिन अवकाश हुनेछन्।

सरकारले कात्तिक १८ गते कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो। सोही दिन मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै दर्ज्यानी चिह्न प्रदान गरी पदबहालीसमेत गराइएको थियो।

सरकारको उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेका थिए। उनको रिट सर्वोच्च प्रशासनले पहिलो दिन दर्ता नगरी होल्डमा राखेको थियो भने दोस्रो दिन मात्र दर्ता गरेको थियो।

अब रिटको अन्तिम सुनुवाइबाट सरकारको निर्णय कानुनसम्मत भए–नभएको विषयमा सर्वोच्च अदालतले निर्णय गर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?