सत्य, निष्पक्ष र विश्वसनीय

२ किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ

न्युज डेस्क
२०८३ मंसिर १०, बुधबार १३:३७

काठमाडौं , ९ मंसिर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ केजी ३४८ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन् ।
मंसिर ८ गते राति करिब ११ः१५ बजे क्याथे प्यासिफिक एयरलाइन्समार्फत हङकङबाट काठमाडौं आएका दुई चिनियाँ महिलालाई शंकास्पद गतिविधिका आधारमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनीहरूले आफ्नो मलद्वार (एनस) तथा भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थ लुकाएर ल्याएका थिए । चेकजाँचका क्रममा उनीहरूको साथबाट प्लास्टिकको च्यापसहित ८ थान उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चीनको ग्वाङडोङकी ४५ वर्षीया लिन लिना (LIN LINA) रहेकी छन् । उनको साथबाट ५ थान अर्धठोस पदार्थ बरामद भएको र त्यसको तौल १ हजार ३४० ग्राम रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही स्थानकी ३५ वर्षीया लिन सिनपिङ (LIN XINPING) को साथबाट ३ थान अर्धठोस पदार्थ बरामद भएको छ । उक्त पदार्थको तौल १ हजार ८ ग्राम रहेको प्रहरीले जनाएको छ ।

दुवै महिलाको साथबाट बरामद भएको पदार्थको कुल तौल २ केजी ३४८ ग्राम रहेको छ ।

बरामद पदार्थसहित पक्राउ परेका दुवै महिलालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाउने तयारी भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?