मिडियाप्रति सरकारको व्यवहारविरुद्ध पर्साका पत्रकार सडकमा, जिल्ला प्रशासन सामुहिक गिरफ्तारी गर भन्दै प्रदर्शन
वीरगञ्ज, ९ मंसिर
मिडियाप्रति सरकारले देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघ पर्साले विरोध प्रदर्शन गरेको छ। महासंघको केन्द्रीय समितिले घोषणा गरेको देशव्यापी आन्दोलनका कार्यक्रमअन्तर्गत बुधबार पर्साका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा आयोजित प्रदर्शनमा जिल्लामा कार्यरत विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बुधबार बिहान ११ः३० बजे जिल्ला प्रशासन कार्यालय पर्साको परिसरअगाडि भेला भएका पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने नारासहितको ब्यानर प्रदर्शन गर्दै सरकारको मिडियाप्रतिको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
प्रदर्शनमा सहभागी पत्रकारहरूले पत्रकारिता क्षेत्रको स्वतन्त्रता, पेसागत सुरक्षा तथा सञ्चारकर्मीहरूको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने भन्दै पत्रकारिताको मर्यादा र अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाल पत्रकार महासंघ पर्साले केन्द्रीय समितिले घोषणा गरेको आन्दोलनलाई जिल्लास्तरमा प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले प्रदर्शन आयोजना गरिएको जनाएको छ।
पत्रकारिता क्षेत्रका समस्या समाधान तथा सञ्चारकर्मीका पेसागत अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने महासंघले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




