व्यवसाय धराशायी भएपछि निराश अश्विन राउतले बुद्धनगरस्थित आफ्नै घरमा आत्मदाह प्रयास गरेका छन्
काठमाडौं,२७ असार
काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा ५० वर्षीय अश्विनकुमार राउतले शनिबार आत्मदाह प्रयास गरेका छन्। पारिवारिक स्रोतका अनुसार व्यापार–व्यवसाय धराशायी भएपछि उनी पछिल्ला केही महिनादेखि गम्भीर तनावमा थिए।
राउतले सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि तथा दिब्यश्री ट्रेड कन्सर्न प्रालिमार्फत नदी किनारामा प्रयोग हुने तारजाली (ग्याभिन) उत्पादन र चीनबाट फ्रिज, पंखालगायत होम एप्लायन्स आयातको व्यवसाय सञ्चालन गर्दै आएका थिए। व्यवसायमा आएको मन्दीका कारण आर्थिक समस्या बढ्दै जाँदा उनी निराश बनेको स्रोतको भनाइ छ।
व्यवसाय सञ्चालनमा कठिनाइ भएपछि उनले ललितपुरको भैँसेपाटीस्थित जग्गा बिक्री गर्ने प्रयास गरेका थिए। तर विभिन्न कारणले बिक्री हुन नसक्दा उनी थप तनावमा परेको बताइएको छ।
प्रहरीले भने छोरासँग विवाद भएपछि उनले आत्मदाह प्रयास गरेको प्रारम्भिक जानकारी दिएको छ। तर पारिवारिक स्रोतले उक्त दाबी अस्वीकार गर्दै उनका छोरा झगडालु स्वभावका नभएको जनाएको छ।
सिराहाको लहान स्थायी घर भएका राउत बुद्धनगरस्थित बुद्ध विहार नजिकै बस्दै आएका थिए। राउत क्षेत्री सेवा समाजका अध्यक्षसमेत रहेका उनी सामाजिक गतिविधिमा पनि सक्रिय थिए। समाजका सचिव रोशन राउतका अनुसार घटना हुँदा उनकी श्रीमती र छोरा घरमा थिएनन्। केही समयअघि मात्र भारतमा स्वास्थ्य उपचार गराएर उनी नेपाल फर्किएका थिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




