सत्य, निष्पक्ष र विश्वसनीय

गणेश नेपालीको आत्मदाहको घटनालाई क्षणिक आवेगका रूपमा लिन नहुने

न्युज डेस्क
२०८३ असार २७, शनिबार १३:०३

गणेश नेपालीको आत्मदाहको घटनालाई क्षणिक आवेगका रूपमा लिन नहुने भन्दै जसपा नेपालले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई राहतको माग गरेकोछ।


काठमाडौं,२७ असार
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गणेश नेपालीको आत्मदाहको घटनालाई व्यक्तिगत दुर्घटना वा क्षणिक आवेगको रूपमा टार्न नमिल्ने बताएका छन्।
शनिबार जारी विज्ञप्तिमार्फत यादवले घटनाको वास्तविक कारण, पृष्ठभूमि तथा त्यसतर्फ पुर्‍याउने सबै परिस्थितिको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरेका हुन्।
विज्ञप्तिमा कुनै व्यक्ति, संस्था वा राज्य संयन्त्रको लापरबाही, अन्याय वा गैरजिम्मेवारी घटनासँग जोडिएको पाइए कानुनबमोजिम कडा कारबाही हुनुपर्ने उल्लेख गरिएको छ।
जसपा नेपालले मृतक गणेश नेपालीका परिवारलाई उचित राहत, सम्मानजनक क्षतिपूर्ति तथा आवश्यक सामाजिक र आर्थिक सहयोगको तत्काल व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेको छ।
साथै यस्ता दुःखद घटना पुनः दोहोरिन नदिन श्रमिक, कामदार, युवा तथा आम नागरिकका गुनासा समयमै सुन्ने, न्याय सुनिश्चित गर्ने र मनोसामाजिक सहयोगलाई प्रभावकारी बनाउने संस्थागत व्यवस्था आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘मानव जीवनभन्दा ठूलो कुनै पनि विषय हुन सक्दैन। कुनै पनि नागरिकले आफ्नो आवाज सुनाउन जीवन नै समाप्त गर्नुपर्ने अवस्था सिर्जना हुनु सबै समाजका लागि स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?