सत्य, निष्पक्ष र विश्वसनीय

बझाङमा जिप दुर्घटना: ३ जनाको मृत्यु, १२ गम्भीर घाइते

न्युज डेस्क
२०८३ असार २७, शनिबार १८:३९

काठमाडौं , २७ असार
बझाङको केदारस्युँ र दुर्गाथली गाउँपालिकाको सिमानामा पर्ने सुँगरेमा आइतबार एउटा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १२ जना गम्भीर घाइते भएका छन् ।

केदारस्युँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–६ चुवापनतर्फ गइरहेको से १ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।दुर्गाथली गाउँपालिका–६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा दुर्गाथली–६ निवासी ६० वर्षीय चक्र महत र ६५ वर्षीया केलादेवी महत रहेका छन् ।

त्यसैगरी केदारस्युँ–७ की ३५ वर्षीया विमला धामीको पनि घटनास्थलमै ज्यान गएको छ ।

दुर्घटनामा परी १२ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा जिप चालक देवबहादुर धामीसहित झल्का महत, जैमती महत, धनशेर जाग्री, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देवबहादुर जाग्री, विरु जाग्री र अर्का एक रामबहादुर महत रहेका छन् ।

घाइतेहरूको अवस्था निकै चिन्ताजनक रहेकाले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान हेलिकोप्टरको पहल भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराका अनुसार प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको र स्थानीयले घाइतेहरूको प्राथमिक उद्धार गरिरहेका छन् ।

यसैबीच, बझाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका मुख्य सचेतक ऐन महरले घाइतेहरूको जीवन रक्षाका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न समन्वय भइरहेको जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सबैलाई धैर्य रहन र उद्धार कार्यमा सहयोग गर्न अपिल गरेका छन् ।

दुर्घटनाको विस्तृत कारण भने अझै खुल्न सकेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?