काठमाडौंमा ठूलो परिमाणको लागुऔषधसहित तीन जना पक्राउ
काठमाडौं, १३ साउन
सशस्त्र प्रहरी बल नेपालले काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी तथा ओखलढुङ्गा मानेभञ्ज्याङ–५ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–६ बस्दै आएका २४ वर्षीय दीपक राई रहेका छन्।

भारतबाट लागुऔषध ल्याएर नेपालमा बेचबिखन भइरहेको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ‘डामाडोल’ नामक लागुऔषधका १ लाख २० हजार क्याप्सुल, बीएसी ७०१७ नम्बरको टाटा कम्पनीको हात्ती गाडी, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल फोन तथा नगद नेपाली रुपैयाँ बरामद गरिएको छ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका तीनै जनालाई बरामद सामग्रीसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





