सत्य, निष्पक्ष र विश्वसनीय

गुरुपूर्णिमाको अवसरमा मनकामना माविका विद्यार्थीद्वारा गुरु–गुरुआमाको भव्य सम्मान

न्युज डेस्क
२०८३ श्रावण १३, बुधबार २२:१७

केक काट्दै शुभकामना आदानप्रदान, सांस्कृतिक कार्यक्रममार्फत गुरुप्रति सम्मान व्यक्त

  • दिपेन्द्र बि. सी.
    वीरगञ्ज, १३ साउन
  • गुरुपूर्णिमाको अवसरमा वीरगञ्ज महानगरपालिका–५ स्थित मनकामना बोर्डिङ स्कुल (मावि) का कक्षा ९ का विद्यार्थीहरूले आफ्ना गुरु तथा गुरुआमाप्रति सम्मान व्यक्त गर्दै भव्य कार्यक्रम आयोजना गरेका छन्। विद्यार्थीहरूले केक काटी गुरु–गुरुआमालाई शुभकामना तथा बधाई दिँदै सम्मान गरेका थिए।

विद्यालयका सञ्चालक तथा प्रिन्सिपल पुरन प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी जगत समाचार डट कमका सञ्चालक एवं जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राईले विद्यार्थीहरूलाई गुरु र गुरुआमाप्रति सधैँ सम्मान, आदर र अनुशासनको भावना राख्न आग्रह गरे। उनले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा गुरुहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै गुरुको सम्मान गर्ने संस्कारले जीवनमा सफलता र आशीर्वाद प्राप्त हुने विश्वास व्यक्त गरे।

त्यसैगरी, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका अध्यक्ष मुनेश कुमार लायो मगरले पनि शिक्षक–शिक्षिकाप्रति सधैँ सम्मान गर्ने बानी विकास गर्न विद्यार्थीहरूलाई सुझाव दिए।

कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्रिन्सिपल पुरन प्रधानले गुरु–गुरुआमाले विद्यार्थीलाई सदैव सही मार्गतर्फ डोर्‍याउने भएकाले उहाँहरूको सम्मान गर्नु प्रत्येक विद्यार्थीको कर्तव्य भएको बताए। उनले विद्यालय परिवारले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि निरन्तर मार्गदर्शन र आशीर्वाद दिइरहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य, संगीत तथा अन्य अतिरिक्त क्रियाकलाप प्रस्तुत गरी गुरुपूर्णिमा उल्लासपूर्वक मनाएका थिए। कार्यक्रममा सहायक प्रिन्सिपल सुनिल यादव, रञ्जित श्रीवास्तव, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन आँचल मिश्रा र शुभम उपाध्यायले संयुक्त रूपमा गरेका थिए।

फोटो क्याप्सन:
गुरुपूर्णिमाको अवसरमा मनकामना बोर्डिङ स्कुल, वीरगञ्जका कक्षा ९ का विद्यार्थीहरूले केक काट्दै आफ्ना गुरु–गुरुआमालाई सम्मान तथा शुभकामना अर्पण गर्दै।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?