लागूऔषधविरुद्ध जनचेतना फैलाउन ‘सरी मम’ को वीरगञ्जमा विशेष प्रदर्शन
वीरगञ्ज, १७ साउन
लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको नेपाली चलचित्र ‘सरी मम’ को विशेष प्रदर्शन शनिबार वीरगञ्जस्थित ए–म्याक्स सिनेमा हलमा सम्पन्न भएको छ।
एन.एफ.आई. क्रियसन प्रालिको आयोजनामा भएको प्रदर्शनमा वीरगञ्ज, सिमरा तथा कलैया क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, सह–प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

चलचित्रमा लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार तथा समाजमा पर्ने नकारात्मक प्रभावलाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ। चलचित्र अवलोकनपछि सहभागी शिक्षकहरूले युवापुस्तालाई लागूऔषधको दुष्परिणामबारे सचेत गराउन यस्ता जनचेतनामूलक चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै हिसान पर्साका अध्यक्ष मुकेश गुप्ताले लागूऔषध दुर्व्यसन आजको समाजको गम्भीर चुनौती बनेको बताउँदै यसको नियन्त्रणका लागि विद्यालय, अभिभावक र समाजबीच सहकार्य आवश्यक रहेको बताए। उनले विद्यार्थी तथा युवामा सकारात्मक सोच विकास गर्न चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
त्यस्तै, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले विद्यार्थीलाई पाठ्यपुस्तकको शिक्षासँगै नैतिक शिक्षा र जीवनोपयोगी सचेतना पनि आवश्यक रहेको बताए। उनले लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि विद्यालयहरूले नियमित रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौला, वरिष्ठ महिला उपाध्यक्ष सुशीला साह, एन–प्याब्सनका जियालाल गुप्ता, सोनालाल पटेल, अलोक चौरसियालगायत शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
चलचित्रका निर्माता विनोद लामाले ‘सरी मम’ मनोरञ्जनका लागि मात्र नभई समाजलाई सकारात्मक सन्देश दिने उद्देश्यले निर्माण गरिएको बताए। लागूऔषधको कुलतमा फसेका युवाको पीडा, परिवारले भोग्नुपर्ने समस्या तथा दुर्व्यसनबाट बच्नुपर्ने सन्देश चलचित्रमार्फत प्रस्तुत गरिएको उल्लेख गर्दै उनले देशका विभिन्न स्थानमा यस्ता विशेष प्रदर्शनलाई निरन्तरता दिइने जानकारी दिए।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





