सत्य, निष्पक्ष र विश्वसनीय

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो

न्युज डेस्क
२०८३ श्रावण १८, सोमबार ०२:२९

काठमाडौं, १८ साउन
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उतारचढावका कारण स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन नसकेको भन्दै निगमले नयाँ मूल्य निर्धारण गरेको हो।
निगमका अनुसार साउन १७ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरिएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य वर्गअनुसार प्रतिलिटर १९७ देखि २०० रुपैयाँ, डिजेल/मट्टितेलको १९७ देखि २०० रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ पुगेको निगमले जनाएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य काठमाडौंमा प्रतिकिलोलिटर १,९६७ अमेरिकी डलर, पोखरामा १,९२७ डलर र भैरहवामा १,९२२ डलर कायम गरिएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा आकस्मिक तथा निरन्तर मूल्यवृद्धिका कारण पेट्रोलियम पदार्थको कारोबारमा निगमलाई ठूलो आर्थिक घाटा भइरहेको जनाएको छ। निगमले उपभोक्ता तथा सरोकारवालालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रहसमेत गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?