विनाशकारी बाढीबाट प्रभावितलाई लक्षित गर्दै कतारद्वारा नेपाललाई मानवीय सहायता
काठमाडौँ, १६ भदौ
हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि कतारले नेपाललाई आपत्कालीन मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ।
कतारी सशस्त्र बलको विशेष विमानमार्फत नेपाल ल्याइएको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। कतार फन्ड फर डेभलपमेन्टले उपलब्ध गराएको उक्त सामग्री करिब ५२ हजार बाढीपीडितलाई प्रत्यक्ष लाभ पुग्ने गरी पठाइएको जनाइएको छ।
राहत सामग्रीमा पानी तान्ने तथा निष्कासन गर्ने उपकरण, बत्ती, खाद्यान्न र बहुउपयोगी त्रिपाल लगायतका सामग्री रहेका छन्। विशेषगरी शुद्ध खानेपानी तथा अत्यावश्यक सेवाको पहुँचमा समस्या भोगिरहेका प्रभावित परिवार र बालबालिकालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कतारी आन्तरिक सुरक्षा बलअन्तर्गतको कतारी इन्टरनेसनल सर्च एन्ड रेस्क्यु ग्रुप ले राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन तथा स्थलगत मानवीय कार्यमा समेत प्रत्यक्ष सहयोग गरिरहेको छ।
विपद् र संकटको समयमा प्रभावित देश तथा समुदायको साथमा उभिने कतारको नीतिअनुसार नेपाललाई उक्त सहायता प्रदान गरिएको जनाइएको छ। कतारले विपद् प्रभावित समुदायको पुनर्स्थापना र उत्थानशीलता अभिवृद्धिमा अन्तर्राष्ट्रिय सहकार्य महत्वपूर्ण रहेको जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





