सत्य, निष्पक्ष र विश्वसनीय

सर्लाहीमा १३२ केभी हाइटेन्सन लाइनको पोलमा चढेकी किशोरीको ५ घण्टापछि सकुशल उद्धार

न्युज डेस्क
२०८३ आश्विन ३०, शुक्रबार ०६:२४

सर्लाही, ३० असोज

सर्लाहीको कविलासी नगरपालिका–२ मा १३२ केभी विद्युत् प्रवाह भइरहेको हाइटेन्सन लाइनको पोलमा चढेकी एक किशोरीको सुरक्षाकर्मीले करिब पाँच घण्टापछि सकुशल उद्धार गरेका छन्।

बिहीबार दिउँसो करिब साढे ४ बजे गाउँनजिकै रहेको विद्युत् पोलको टुप्पोमा चढेर बसेकी किशोरीलाई राति करिब ९ बजे नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त प्रयासमा सकुशल तल झारिएको हो।

स्थानीयले किशोरी विद्युत् पोलमा चढ्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै नेपाल विद्युत् प्राधिकरणलाई जानकारी गराएर उक्त क्षेत्रमा विद्युत् प्रवाह बन्द गरिएको थियो।

तलबाट अभिभावक तथा सुरक्षाकर्मीले पटक–पटक बोलाउँदा पनि किशोरी नबोली बसेपछि उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

अभिभावकका अनुसार किशोरी मानसिक रूपमा अस्वस्थ छिन्। सुरक्षाकर्मीको समन्वय र संयुक्त प्रयासपछि उनलाई सुरक्षित रूपमा उद्धार गरिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?