PHP मा गम्भीर सुरक्षा कमजोरी, नेपालसहित विश्वका सरकारी वेबसाइट प्रभावित
काठमाडौँ , ५ कार्तिक
विश्वभर व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट प्रभावित भएका छन्। नेपालका समेत सरकारी वेबसाइटहरू नखुलेको जनाइएको छ। कमजोरी सार्वजनिक भएसँगै ह्याकरहरूले यसको दुरुपयोग गर्न सक्ने जोखिम बढेपछि वेबसाइट सञ्चालकहरू प्रणाली सुरक्षित बनाउन सक्रिय भएका छन्।
रोयटर्सका अनुसार सुरक्षा कमजोरी समाधान गर्न विकासकर्ताहरूले आपत्कालीन अपडेट जारी गर्दै प्रयोगकर्तालाई तत्काल प्रणाली अद्यावधिक गर्न आग्रह गरेका छन्। कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट वर्षौँदेखि सफ्टवेयरमा लुकेका कमजोरी पहिचान गरिएको बताइएको छ। प्रविधि कम्पनीहरूले केही ह्याकरले यस कमजोरीको दुरुपयोग गर्न थालिसकेको चेतावनी दिएका छन्। नेपालमा भने सरकारी बिदाका कारण यसबारे आधिकारिक अपडेट सार्वजनिक नभएको जनाइएको छ।

साइबर सुरक्षा विज्ञहरूले कमजोरी समाधान गर्ने अपडेट सार्वजनिक भइसकेकाले पुराना संस्करण प्रयोग गरिरहेका सर्भरमाथि आक्रमण बढ्न सक्ने जोखिम औँल्याएका छन्। सन् १९९० को दशकको सुरुआतमा विकसित PHP भाषा वर्डप्रेस, ड्रुपल, जुम्ला र म्याजेन्टाजस्ता लोकप्रिय वेबसाइट प्रणालीमा प्रयोग हुने भएकाले यसको कमजोरीले इन्टरनेटका धेरै वेबसाइटलाई असर गर्न सक्छ।
इन्टरनेट इन्टेलिजेन्स कम्पनी सेन्सिसको तथ्यांकअनुसार PHP चलाइरहेका २६ लाख होस्टमध्ये करिब १५ लाखमा अझै सुरक्षा समाधान नभएको संस्करण प्रयोग भइरहेको छ। विश्वभरका साइबर सुरक्षा निकायले प्रयोगकर्तालाई तत्काल नयाँ अपडेट जडान गर्न वा त्यसो गर्न नसकिए जोखिम नियन्त्रणका लागि वेबसाइट अस्थायी रूपमा अफलाइन राख्न आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





