वित्तीय अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्नेमा प्रहरी महानिरीक्षक केसीको जोड
काठमाडौं, १ मंसिर
प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रहरी अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा आयोजित एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ चुनौतीहरू थपिँदै गएको बताए ।

‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नाराका साथ आयोजित कार्यशालाको मुख्य विषयवस्तु ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ ।
कार्यशालामा वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीहरूको विश्लेषण गर्दै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन तथा न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपायबारे छलफल गरिएको छ ।
सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय, सहकार्य तथा सूचनाको प्रभावकारी आदानप्रदान आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रतिनिधिलगायत विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
सोही अवसरमा प्रहरी महानिरीक्षक केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ पुस्तकसमेत लोकार्पण गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





