हेटौंडा ढुवानी एसोसिएसनद्वारा नारायणी यातायात व्यवसायी संघको नयाँ कार्यसमितिलाई सम्मान
हेटौंडा ढुवानी एसोसिएसनद्वारा आयोजित कार्यक्रममा नारायणी यातायात व्यवसायी संघ, मकवानपुरका नवनिर्वाचित अध्यक्ष सरोज खनालसहित नयाँ कार्यसमितिलाई स्वागत तथा सम्मान गर्दै आयोजकका पदाधिकारीहरू।
हेटौंडा, ६ साउन
हेटौंडा ढुवानी एसोसिएसनले नारायणी यातायात व्यवसायी संघ, मकवानपुरका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ।
एसोसिएसनका अध्यक्ष प्रदीप अर्यालको सभाध्यक्षतामा आयोजित कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका पूर्वअध्यक्ष हिरालाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष सरोज खनालसहित सम्पूर्ण कार्यसमितिको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा एसोसिएसनका सचिव शिवप्रसाद खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। त्यसपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव बद्रीप्रसाद चौलागाईं, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष सरोज खनाल तथा प्रमुख अतिथि हिरालाल श्रेष्ठले शुभकामना मन्तव्य राख्दै यातायात व्यवसायलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन व्यवसायीबीच आपसी सहकार्य तथा एकता अपरिहार्य रहेको बताएका थिए।
वक्ताहरूले यातायात क्षेत्रका साझा समस्या समाधान, व्यवसायीहरूको हकहित संरक्षण तथा संस्थागत सुदृढीकरणका लागि सबै पक्षबीच समन्वय र सहकार्यलाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको अन्त्यमा हेटौंडा ढुवानी एसोसिएसनले नारायणी यातायात व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष सरोज खनालसहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै सम्मान गरेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





