दसैँअघि वीरगन्जको मुख्य सडक सफा र व्यवस्थित गरिने
वीरगन्ज, ५ असोज
वीरगन्जको मुख्य सडकलाई दसैँअघि नै पूर्ण रूपमा सफा तथा व्यवस्थित गरिने भएको छ । सडक विस्तारका क्रममा अव्यवस्थित बनेका तार व्यवस्थापनसँगै सडक क्षेत्रमा रहेका निर्माण सामग्री तथा भत्काइएका संरचनाका अवशेष हटाउने काम सुरु गरिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।
सडक विस्तारका क्रममा तारहरू अव्यवस्थित हुँदा पैदलयात्री तथा स्थानीयवासीलाई आवतजावतमा समस्या हुनुका साथै जोखिमसमेत बढेपछि तार व्यवस्थापनको काम थालिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।


भत्काइएका संरचनाका अवशेष, निर्माण सामग्री तथा अन्य अव्यवस्थित सामग्री हटाएर सडक क्षेत्र सफा गर्ने काम तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख इन्जिनियर दुर्गाप्रसादले जानकारी दिनुभयो ।
दसैँअघि मुख्य सडकलाई पूर्ण रूपमा सफा र व्यवस्थित बनाउने विषयमा महानगरपालिका प्रमुख सिंहले जोड दिनुभएको छ । वीरगन्ज महानगरपालिका र सडक डिभिजन कार्यालय हेटौँडाबीच भएको छलफलमा सडक विस्तारका क्रममा भत्काइएका संरचनाका अवशेष, निर्माण सामग्री तथा अन्य सामग्री हटाएर मुख्य सडक क्षेत्रलाई व्यवस्थित बनाउने सहमति भएको छ ।

मुख्य सडक क्षेत्रमा रहेका अधिकांश घर तथा संरचना भत्काइए पनि त्यसबाट निस्किएका अवशेष तथा निर्माण सामग्री व्यवस्थापन नगरिएको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका थिए ।
सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक दायाँ र बायाँ २५–२५ मिटर विस्तार गर्ने उद्देश्यले घर तथा आवास भत्काउने काम सम्पन्न भइसकेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले गत वैशाख ६ गतेदेखि सडक विस्तारको काम सुरु गरेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





