सत्य, निष्पक्ष र विश्वसनीय

निर्वाचनपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक आज

न्युज डेस्क
२०८३ आश्विन ५, सोमबार ०९:३४

काठमाडौँ, ५ असोज
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजेदेखि काठमाडौँमा सुरु हुँदैछ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलोपटक बस्न लागेको हो।

बैठकमा केन्द्रीय कमिटीका सबै सदस्यलाई आफ्नो धारणा राख्न समय उपलब्ध गराइने जनाइएको छ। निर्वाचनपछिको पार्टीको अवस्था, आगामी रणनीति तथा समसामयिक राजनीतिक विषयमा सदस्यहरूले धारणा राख्ने अपेक्षा गरिएको छ।

यसैबीच, केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्न एमाले केन्द्रीय सचिवालयको बैठक पनि बस्दैछ। पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार आइतबारदेखि सुरु भएको सचिवालय बैठकको निरन्तरता आज पनि हुनेछ।

निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो प्रतिवेदन बुझाएपछि केन्द्रीय कमिटी बैठक स्थगित भएको थियो। प्रतिवेदन बुझिसकेपछि आज पुनः बैठक बस्न लागेको हो।

केन्द्रीय कमिटी बैठकले निर्वाचनको समीक्षा, पार्टीको आगामी कार्यदिशा र संगठनात्मक विषयमा आवश्यक छलफल गर्ने बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?