त्रिपुरेश्वरमा बसमा आगलागी, चालक गम्भीर घाइते
काठमाडौं, ५ असोज
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन्।
सोमबार मध्याह्न बस स्टपमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा५ख ४२७६ नम्बरको बसमा आगलागी भएको हो। आगलागीमा परी बस चालक २५ वर्षीय दावा लामा घाइते भएका छन्। उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार लामाको अवस्था गम्भीर छ। आगलागीपछि प्रहरीले बसको ढोका फोडेर उनको उद्धार गरी अस्पताल पुर्याएको थियो।
आगलागीका बेला बसमा कुनै यात्रु नरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार बसमा चालक लामा मात्रै थिए।
प्रहरीका अनुसार आगलागी हुँदा बसको मुख्य ढोका र चालक सिटतर्फको ढोका दुवै बन्द थिए। प्रहरीले ढोका फोडेर चालकको उद्धार गरेको जनाएको छ।
घटनाबारे प्रारम्भिक अनुसन्धानका क्रममा चालक लामाले आफैँ बसमा आगो लगाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





