त्रिपुरेश्वर बस आगलागीमा चालकको मृत्यु, घटनाबारे छानबिन समिति गठन
काठमाडौं, ६ असोज
काठमाडौंको त्रिपुरेश्वरमा सोमबार भएको बस आगलागीमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चालकको सोमबार राति करिब १० बजे मृत्यु भएको अस्पतालका बर्न प्लास्टिक सर्जन डा. शंकरमान राईले जानकारी दिए। मृतक चालकको नाम र ठेगाना भने खुल्न बाँकी रहेको बताइएको छ।

बा.५ ख ४२७४ नम्बरको रिद्धिसिद्धी यातायातको बसमा सोमबार आगलागी भएको थियो। ट्राफिक नियम उल्लङ्घन गरेको विषयमा चालकलाई पुर्जी काट्न खोज्दा विवाद भएपछि बसमा आगजनी भएको बताइएको छ।
सात सदस्यीय छानबिन समिति
घटनाको सत्यतथ्य पत्ता लगाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ।
समितिमा प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका प्रतिनिधि भीम ज्वाला राई तथा रिद्धिसिद्धी यातायात प्रालिका प्रतिनिधि लव केसी सदस्य छन्।

समितिले घटनाको तथ्य, प्रमाण र सूचना सङ्कलन तथा विश्लेषण गर्नेछ। साथै घटनास्थल प्रत्यक्ष देखेका तथा घटनाबारे जानकारी भएका व्यक्तिसँग सोधपुछ गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।
सीसीटीभी र टाइमलाइन अध्ययन गरिने
समितिले घटनास्थल वरपरका सीसीटीभी फुटेज अध्ययन तथा विश्लेषण गर्नेछ। आगलागीबाट गम्भीर घाइते भएका चालकको पृष्ठभूमि र घटनासँग सम्बन्धित अन्य प्रमाणिक विवरणसमेत यकिन गरिनेछ।
यस्तै, बस पार्किङ बेमा राखिएको समयदेखि आगलागी भएको समयसम्मको घटनाक्रम अर्थात् ‘टाइमलाइन’ तयार गरी तथ्यगत विश्लेषण गरिनेछ।
समितिले घाइते चालकको मोबाइल वा साथबाट प्राप्त अन्य सामग्रीमार्फत घटनासँग सम्बन्धित भिडियो, म्यासेज तथा सम्पर्क विवरणसमेत अध्ययन गर्नेछ। आवश्यक देखिएमा घटनासँग सम्बन्धित कल विवरण पनि अनुसन्धानको दायरामा राखिनेछ।
सात दिनभित्र प्रतिवेदन
छानबिन समितिले घटनासँग सम्बन्धित तथ्य र प्रमाणका आधारमा आगलागी कसरी र कसका कारणबाट भएको हो भन्ने विषय यकिन गरी सात दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउनेछ।
समितिले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने पूर्वसावधानी तथा नियन्त्रणका उपायबारे समेत सुझाव दिनेछ।
छानबिन समितिले आफ्नो कार्यविधि र कार्यतालिका आफैँ तय गर्नेछ। समितिको सचिवालय जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रहने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





